नेपालको आर्थिक विकास, औद्योगिकीकरण र गुणस्तर जनजीवन निम्ति ऊर्जाको महत्व अतुलनीय छ । ऊर्जाको माग दिनानुदिन बढिरहेको छ । गुणस्तरीय ऊर्जा औद्योगिक विकास तथा सुरक्षित जनजीवनको संवाहक हो । ऊर्जा भन्नाले विद्युत्ीय ऊर्जा मात्र नभएर तापीय तथा इन्धन ऊर्जाको पनि उत्तिकै आवश्यकता छ । त्यसैगरी ऊर्जालाई पर्यावरणसँग पनि सन्तुलन गरेर यसको माग र आपूर्ति सन्तुलन गर्नु आजको उद्देश्य हो । यसका लागि अधिकतम नवीकरणीय ऊर्जा स्रोतबाट ऊर्जा आवश्यकता परिपूर्ति गर्नुपर्ने हुन्छ । पछिल्लो दशक देशले विद्युतीय ऊर्जा विकासमा महत्वपूर्ण उपलब्धि हासिल गर्दै आएको छ ।
प्रकृतिले नेपाल धेरै प्रकारका नवीकरणीय ऊर्जाका स्रोत दिएको छ । उत्तरतर्पmका हिमालवाट बग्ने पानीवाट निरन्तर रुपमा उत्पादन हुन सक्ने विभिन्न प्रकार जलविद्युत् आयोजना निर्माण गरेर करिब दुई लाख मेगावाट क्षमता बराबर विद्युतीय ऊर्जा प्राप्त गर्न भौगोलिक भूभाग पनि दिएको छ । त्यसैगरी ऊर्जा सन्तुलन कायम गर्न सौर्य ताप उपलब्ध छ, जसबाट करिब ४ लाख ३० हजार मेगावाट बराबर विद्युत् उत्पादन गर्न सकिनेछ । नेपालको अर्को प्राकृतिक स्रोत वन व्यवस्थापनबाट निस्कने झाडी तथा खेर गइरहेको वायोमासबाट त्यति नै ठूलो परिमाणमा तापीय ऊर्जा प्राप्त हुनेछm जसले जीवाश्म इन्धन (डिजेल, पेट्रोल तथा कोइला) प्रयोगलाई सहजै प्रतिस्थापन गर्न सक्दछ । हालै नेपालको दैलेखमा धेरै ठूलो परिमाणमा प्राकृतिक ग्यास उपलब्ध भएको पनि छ । यी सबै प्रकारका ऊर्जारूको सही सदुपयोगले देश ऊर्जामा आत्मनिर्भर मात्र नभएर छिमेकी मुलुकमा समेत निर्यात गर्न सक्नेछ ।
ऊर्जा क्षेत्रको विकासले विद्युत् तथा तापीय ऊर्जा उत्पादन मात्र नगरेर यसबाट ठूलो संख्यामा रोजगारीका अवसरको सिर्जना भएको, विद्युत् आयोजनासँगै स्थानीय तहमा विद्युत्, बाटो, सञ्चार, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार भएका छन् । पछिल्लो समय नेपालमै उत्पादन भएको भरपर्दो विद्युत्का कारण उद्योगको क्षमता विस्तार भएको छ । बढ्दो ऊर्जा मागलाई के–कसरी परिपूर्ति गर्न सकिन्छ भन्न सरकारले ऊर्जा विकास मार्गचित्र, २०८१ लागू गरेको छ र यो मार्गचित्रबाट ऊर्जा माग र आपूर्ति सन्तुलनका लागि कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषय त्यसमा समेटिएको छ ।
मागचित्रमा औंल्याइएअनुसार वि.सं.२०८०/८१ सम्म १०,३०१ मे.वा.क्षमताका विद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता भएको छ भने सन् २०३५ अर्थात् वि.सं. २०९१/९२ सम्म २८,५०० मेगावाट क्षमतामा विद्युतीय ऊर्जा उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
उपरोक्त विद्युत् उत्पादनमध्ये १३,५०० मेगावाट घरेलु प्रयोजन र १५,००० मे.वाट निर्यातका लागि उयोग गर्ने नीति अवलम्बन गरिएको छ । त्यसैगरी नेपालले युएनएफसीसीसीकोे सचिवालयमा पेस गरेको निर्धारित राष्ट्रिय योगदान २०२५–२०३० (३.०) मा सन् २०३० सम्ममा १५००० मेगावाट उत्पादन गर्ने लक्ष्य लिएको छ । यसका लागि ५५ अर्ब डलर आवश्यक रहेको र सोमध्ये ९.५ अर्ब डलर घरेलु स्रोतबाट व्यवस्थापन गर्ने लक्ष्य लिइएको छ ।
समय–समयमा सरकारले ऊर्जा विकासका लागि छुट्टाछुट्टै आयोगहरू बनाई ऊर्जा उत्पादन तथा व्यवस्थापनको लागि अध्ययन गरिररहे पनि देशमा भइरहेको राजनीतिक परिवर्तन तथा दिगो सरकार नभएको कारण ऊर्जा क्षेत्रको विकासमा सोचेअनुरूप विदेशी लगानी आउन सकेको छैन । विषम परिस्थितिका बाबजुद नेपाली बैंक, वित्तीय संस्था तथा ऊर्जाउद्यमीले ऊर्जा क्षेत्रमा साहसिक कार्य गरेका कारण पछिल्लो दशक केही देखिने गरी उपलब्धि हासिल भएको छ । नेपाल कहालीलाग्दो विद्युत् भार कटौतीबाट विद्युत् ऊर्जा निर्यात गर्न सफल भएको छ । यो अवस्थामा पुर्याउन निजी ऊर्जा उद्यमीको साहस, नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद– बिक्री सम्झौता गर्न देखाएको तत्परता, सरकारी नीति तथा नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको नीतिको महत्वपूर्ण भूमिका रहेको छ ।
राष्ट्र बैंकले ऊर्जा क्षेत्रमा १० प्रतिशत ऋण प्रवाह गर्नुपर्ने अनिवार्य नियमका कारण बैक तथा वित्त क्षेत्रले यसलाई लगानी अवसरको रूपमा लिएका छन् । त्यसैगरी सर्वसाधारणमा सेयर जारी गर्न धितोपत्र बोर्डको नीति तथा हकप्रद सेयर जारी गरी नयाँ आयोजना निर्माण गर्न विद्युत् नियमन आयोगले अख्तियार गरेको नीतिअनुसार स्वदेशी ऊर्जा उद्यमीलाई छरिएर रहेको पुँजी परिचालन गरी ऊर्जा क्षेत्रको विकासमा बृहत्तर उपलब्धि हासिल भएको छ । परिणामस्वरुप नेपाली ऊर्जा उद्यमीले अधिकतम ३४५ मे.वा. क्षमतासम्मका आयोजना स्वदेशी पुँजी परिचालन गरी निर्माण कार्य अघि बढाउन सफल भएका छन् । नेपाली निजी क्षेत्रले देखाएको यो तत्परतालाई सरकारले साथ दिँदै लग्ने हो भने भविष्यमा नेपाली निजी क्षेत्रले नेपालमा मात्र नभएर बाह्य मुलुकमा पनि जलविद्युत् आयोजनाको विकास गर्ने साहस गरी सफलता हात पार्नेछन् ।
सरकारले अवलम्बन गरेको ऊर्जा विकास मार्गचित्र, २०८१ लाई पूरा गर्न पनि यो क्षेत्रमा देखिएका समस्याको हल पनि तत्काल गर्न जरुरी छ । ऊर्जा क्षेत्रमा के–कस्ता चुनौती छन्, पहिला त्यसको चर्चा गरी समाधानको उपाय खोजिनुपर्दछ । जलविद्युत्को विकासमा देखिएका समस्या तथा चुनौतीका सम्बन्धमा छोटकरीमा प्रस्तुत गर्न चाहन्छु ।
१. पूर्वाधार अभावः
आवश्यक प्रसारण लाइन अभाव, ग्रीडको दुर्बलता, ऊर्जा भण्डार प्रविधिको सीमितताले उत्पादित बिजुलीको पूर्ण उपयोग र क्षेत्रीय वितरणमा अवरोध उत्पन्न भएको छ ।
२. नीतिगत जटिलताः
ऊर्जा विकासका लागि आयोजना निर्माणमा लैजान लामो स्वीकृति प्रक्रिया, जटिल भूमि अधिग्रहण, जटिल रुख कटान प्रक्रिया, समय खर्चिलो वातावरण प्रभाव मूल्यांकन अनुमोदनजस्ता प्रक्रियामा जटिलता देखिएको छ ।
३.शान्ति–सुरक्षा :
जलविद्युत् आयोजना निर्माण क्षेत्रमा अनावश्यक माग राखी अवरोध सिर्जना गर्ने परम्पराको थालनी भएको छ । निःशुल्क सेयर वितरण गरिनुपर्नेजस्ता असंवैधानिक र गैरकानुनी माग गरी आयोजनाको कामलाई प्रभावित पार्ने र सरकारबाट त्यस्ता कामलाई निस्तेज गर्न शान्ति–सुरक्षा सुनिश्चितता नभएको देखिन्छ ।
४. वित्तीय सीमान्त :
ठूला आयोजनाका लागि पर्याप्त घरेलु लगानी अभाव छ र विदेशी लगानी आकर्षित गर्न आवश्यक छ । सरकारको सुरक्षणबिना बाह्य लगानी आकर्षित हुन सक्ने अवस्था देखिन्न ।
५. ऊर्जा खपत :
उत्पादित ऊर्जालाई सकेसम्म देशमै खपत गर्ने र बढी भएको विद्युत् छिमेकी मुलुकमा खपत बढाउनको लागि सन्तुलित पूर्वाधार अभाव रहेको छ ।
६. वैकल्पिक स्रोतमा सुस्त विकास :
जलविद्युत्का अलावा सौर्य ऊर्जार्, वायु ऊर्जा, वायोमास ऊर्जाजस्ता स्रोतको तुलनात्मक रूपमा सुस्त गतिमा विकास भएको छ ।
आगामी दिनमा सुधार हुनुपर्ने पक्ष
नेपालले ऊर्जा स्वावलम्बन प्राप्त गर्न र यसलाई राष्ट्रिय विकासको इन्जिन बनाउन निम्न पक्ष सुधार हुन जरुरी छ :
१. ऊर्जा दशक घोषणा गरी एकीकृत कानुनको व्यवस्था :
ऊर्जा क्षेत्रमा देखिएका तमाम समस्यालाई हल गर्न ऊर्जा दशक घोषणा गरी एकल एकीकृत कानुन तर्जुमा गरी लागू गर्नुपर्दछ । ऊर्जा विकासले विद्युतीय क्षेत्रको मात्र विकास नभई यसबाट एकैपटक त्यस क्षेत्रका वाटो, विद्यालय, स्वास्थ्य चौकी, पर्यटकीय स्थल, बजार विस्तार तथा पुल–पुलेसा विकास गर्नुपर्दछ । त्यसैगरी प्रसारण लाइन निर्माण गर्दा देखिएका कानुनी जटिलता, जग्गा अधिग्रहरणका समस्या, उच्छृंखल समूहलाई पनि सोही एकीकृत कानुनमार्पmत समाधान खोजिनुपर्दछ ।
२. ग्रीड सुदृढीकरण र क्षेत्रीय सम्बन्ध :
विद्युत् उत्पादन मात्र भएर पुग्दैन, उत्पादित विद्युत् सबै महिनामा सहज रूपले आदान–प्रदान गर्ने खालको हुनुपर्दछ नकि हिउँद महिनामा बाटो सुचारु हुने र वर्षामा बाटो हिँड्न नसक्ने खालको जस्तो ग्रीड प्रणाली भएको देखिन्छ । यसलाई नसच्याई उत्पादित विद्युत् बजारको पहँुचसम्म पुर्याउन सकिन्न । त्यसैले सञ्चालनमा रहेका, निर्माणाधीन र निर्माणमा जान सक्ने आयोजनासमेतलाई ख्याल गरी राष्ट्रिय ग्रीडको अवधारणा बनाई ग्रीडको सुदृढीकरण गर्नुपर्दछ । यसका साथै दक्षिण एसियाली क्षेत्रीय ग्रीडसँग जोडिएर ऊर्जा क्षेत्रीय व्यापारका लागि मार्ग सुनिश्चित गर्नुपर्दछ । यसले नेपाललाई दक्षिण एसियाली मुलुकमा ऊर्जा निर्यातक देश बनाउन मद्दत गर्दछ ।
३. नीतिगत सरलीकरण र पारदर्शिता :
ऊर्जा आयोजनालाई पहिलो प्राथमिकतामा राखी आयोजनाको स्वीकृत प्रक्रिया तीव्र, पारदर्शी र निवेदकमैत्री बनाउनुपर्दछ । ‘वान स्टप’ सेवाजस्ता व्यवस्था कार्यान्वयन गर्नुपर्दछ । ऊर्जा खरिद दरलगायतका नीति दीर्घकालीन र आकर्षक हुनु जरुरी छ ।
३. विद्युत् खरिद–बिक्री सम्झौता तथा अनुमतिपत्रमा सहजीकरणः
ऊर्जा विकास मार्गचित्रमा तोकिएको क्षमता बराबरका आयोजनाको क्रमिक रूपमा विद्युत् खरिद बिक्री सम्झौतालाई तत्काल अघि बढाउन जरुरी छ । रोकिएको विद्युत् खरिद बिक्रीलाई प्रसारण लाइन बनेका वा उत्पादित विद्युत् संवाहन हुने क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी अघि बढाउन जरुरी छ । त्यसैगरी विद्युत् खरिद बिक्री सम्झौताका नभएका कारण अनुमतिपत्रको म्याद गुज्रिएका आयोजनाको अनुमतिपत्रको म्याद थप गरी सहजकीरण हुनु जरुरी छ ।
४. लगानी वातावरणमा सुधार :
विदेशी लगानीलाई आकर्षित गर्न विश्वसनीय कानुनी र वित्तीय ढाँचा कायम गर्नुपर्दछ । सार्वजनिक/निजी साझेदारीलाई प्रभावकारी बनाउनुपर्दछ । ऊर्जा क्षेत्रका लागि विशेष आर्थिक प्रोत्साहन घोषणा गर्नुपर्दछ ।
५. नवीकरण र विविधीकरण :
जलविद्युत् मात्र नभएर सौर्य, वायु, जैविक ऊर्जाको विकासलाई प्रोत्साहन दिनुपर्दछ । साथै, पूर्वाधार निर्माण र अनुसन्धानलाई बढावा दिनुपर्दछ । घरायसी तहमा सौर्य ऊर्जाको प्रयोग बढाउने कार्यक्रम सक्रिय बनाउनुपर्दछ । यसबाट दिउँसोको समय पानी बचत गरी रात्रि पिक आवरमा पिकिङ आयोजनालाई सक्रिय बनाउनुपर्दछ । वायोमास पेलेट तथा बीक्वेटको प्रोत्साहनले कोइला तथा अन्य जीवाश्म इन्धनलाई प्रतिस्थापन गर्नेछ र राष्ट्रिय आयमा वृद्धि हुनेछ ।
६. सामाजिक सहभागिता र पर्यावरण संरक्षण :
ऊर्जा आयोजना कार्यन्वयनमा गर्दा स्थानीय समुदायको सहमति, पुनर्स्थापना र लाभान्वित हुने सुनिश्चितता महत्वपूर्ण छ । विकासका साथै पारिस्थितिकीय सन्तुलन कायम रहोस् भन्ने दृष्टिकोण अंगीकार गर्नुपर्दछ ।
७. ऊर्जा उपयोग तथा भण्डारण :
विद्युत् खपत दैनिक तथा मौसमी रूपमा फरक–फरक छ । वर्षामा महिनामा विद्युत् आपूर्ति बढी हुने र हिउँदमा कम हुने भएकाले माग र आपूर्तिलाई सबल बनाउन स्टोरेज प्रकृतिका आयोजना निर्माण वा ठूला क्षमताका ब्याट्री उपयोगिता बढाउनुपर्ने हुन्छ । भारतमा झैं नेपालमा पनि कृषि क्षेत्रमा प्रसारण लाइन निर्माण गरी ऊर्जा उपयोग बढाई आन्तरिक रूपमा विद्युत् उपभोगमा बढावा दिन जरुरी छ ।
८. शान्ति–सुरक्षा :
आयोजना निर्माण गर्दा स्थानीय तहमा हुने अवरोधलाई तत्काल निरुपण गर्नुपर्दछ । आयोजनाको वातावरणीय अध्ययनमा औंल्याइएका कार्याक्रमभन्दा बढी माग राखेर कानुनी मूल्य–मान्यताको धज्जी उडाउने र आयोजना निर्माण कार्यमा अवरोध गर्ने परम्परा नै बसिसकेको छ । यस्ता बन्दले हुने आयोजनाको नोक्सानी बन्दकर्ताले बेहोर्नुपर्नेजस्ता कडा कानुनको व्यवस्था जरुरी छ । त्यसैगरी आयोजना निर्माता माफिया हुन् भन्ने संज्ञा दिई सामाजिक वातावरण नै धूमिल हुने खाले अभिव्यक्ति निरुत्साहित गरी सामाजिक तथा कानुनी मान्यता विपरीतका कार्यलाई निस्तेज पार्नुपर्दछ ।
८. प्रविधि र मानव शक्ति विकास :
आधुनिक प्रविधिको विकास, स्मार्ट ग्रीड, डिजिटल मिटरिङ प्रणाली र ऊर्जा दक्ष उपकरण प्रयोग बढाउनुपर्दछ । साथै, ऊर्जा इन्जिनियरिङ र प्रबन्धनमा प्रशिक्षित मानव शक्ति तयार गर्न शैक्षिक पाठ्यक्रम तथा प्रशिक्षणलाई जोड दिनुपर्दछ ।
९. ऊर्जा सुरक्षा र दीर्घकालीन योजना कार्यान्वयन :
सरकारले दीर्घकालीन र समग्र ऊर्जा योजना तयार गर्नुपर्दछ । त्यसैगरी लामो समय खर्च गरेर सरकारले बेलाबेलामा तयार पारेको ऊर्जा सुरक्षा नीति तथा ऊर्जा विकास मार्गचित्रलाई कार्यान्वयनमा ल्याउन आवश्यक कदम चाल्नुपर्दछ ।
निष्कर्ष :
नेपाल ऊर्जा विकास गर्न ठूलो सम्भावना छ । यहाँ जलविद्युत्, सौर्य विद्युत् तथा जैविक ऊर्जा उत्पादनको आधार छ । विद्यमान ऊर्जा विकास गतिलाई अझ बलियो बनाउँदै देखिएका चुनौती सामना गर्न र भविष्यमा माग पूर्ति गर्न सक्षम हुन आवश्यक सुधारलाई समय र संकल्पपूर्वक काम गर्नुपर्दछ । त्यसका लागि सरकार, निजी क्षेत्र, नागरिक समाज र बाह्य साझेदारबीच सहकार्य र समन्वय अत्यावश्यक छ । सुदृढ ऊर्जाको आधार नै नेपाललाई समृद्ध राष्ट्र बनाउने आधार हो ।
(नेपाल इप्पानमा कार्यसमिति सदस्य हुनुहुन्छ)




