नेपालमा ऊर्जा उत्पादनको इतिहासभन्दा पत्रकारिताको इतिहास केही लामो छ । नेपालको पहिलो जलविद्युत् आयोजना निर्माण भएको १९६८ भन्दा ठिक एक दशकअघि अर्थात् विसं. १९५८ वैशाख २४ गतेदेखि नेपालको जेठो पत्रिका गोरखापत्रको प्रकाशन सुरु भयो । प्रारम्भमा साप्ताहिक गोरखापत्र समयक्रममा हप्ताको दुई÷तीन हुँदै २०१७ फागुन ७ गतेबाट दैनिक हुँदै अहिले १२४ वर्षमा निरन्तर प्रकाशित भइरहेको छ ।
इतिहास लामो भएपनि दुवै क्षेत्रको विकासक्रममा राणा शासन र पञ्चायती व्यवस्थाका क्रममा ठूलो उत्साह छाउन सकेन । एकै पटक २०४६ को राजनीतिक परिवर्तनपछि मात्र प्राप्त खुला वातावरणमा यी दुवै क्षेत्र फल्न र फूल्न थाले अहिले जीवित रहेका निजी क्षेत्रबाट सञ्चालित राष्ट्रिय स्तरका ब्रोडसिटका दैनिक अखबार २०४७ पछि मात्रै दर्ता भएका हुन् । स्वदेशी निजी क्षेत्रको लगानीमा बनेका जलविद्युत् आयोजना २०५७ पछि मात्रै सञ्चालनमा आउन थालेका हुन् । यहाँ पनि निजी क्षेत्र मिडियाभन्दा एक दशक पछाडि परेको देखिन्छ ।
सञ्चारमाध्ययममा आउने विषयवस्तुमा ‘ऊजार्’ क्षेत्रका विषय अहिले त यति कम संख्यामा छन् भने यसअघि झन् कस्तो अवस्था थियो होला ? राजनीतिक विषयबाहेक पनि पत्रकारिताका अन्य क्षेत्र छन् भनेर विधागत पत्रकारिताको विस्तारै विकास हुँदैछ । मिडिया हाउस यताका एक दशकमा विधागत पत्रकारितातिर अग्रसर हुँदैछन् । यताको दशकमा आर्थिक मुद्दामा केन्द्रित भएर लेख्ने केही दर्जन अनलाइन र केही दैनिक पत्रिका सुरु भएका छन् । ऊर्जा क्षेत्रका विषयमा मात्रै पत्रकारिता गर्ने केही अनलाइन पनि सञ्चालनमा आइसकेका छन् । तर त्यहाँ ऊर्जा उत्पादकहरुले धेरै कम मात्रै लगानी गरेका छन् । अथवा भनौ जति लगानी गर्नुपथ्र्यो त्यसको १० प्रतिशत पनि लगानी गरेको देखिँदैन ।
अध्ययन/अनुसन्धान, प्रकाशनमा लगानी
कतिपय लगानीको प्रतिफल तत्काल हुँदैन । आज गरेर भोलि नै प्रतिफल दिने हुँदैनन् । अनि जुन क्षेत्रमा लगानी हुन्छ त्यही क्षेत्रबाटै लगानी उठ्ने पनि हुँदैनन् । एउटा क्षेत्रको लगानीले अर्को क्षेत्रमा प्रतिफल दिइरहेको हुन्छ । तीमध्येका केही क्षेत्र हुन्अध्ययन/अनुसन्धान, प्रकाशन र मास मिडिया ।
अध्ययन/अनुसन्धानमा गरिएको लगानी देख्दा फजुल लागे पनि बुद्धिजीवी वर्गले बहस तथा विमर्श गर्ने विषय नै अनुसन्धानका निष्कर्ष हुन् । सामाजिक सञ्जालमा आउने विषय र केही दर्जनबाहेक अधिकांश अनलाइन मिडियामा आउने विषयमा अडियन्सले फरक छुट्याउन नसक्ने अवस्था आइसकेको छ । यस्तो अवस्थामा कम्पनीले प्रकाशन गर्ने मुखपत्र नै भएपनि त्यसको महत्व धेरै हुनसक्छ ।
अर्को महत्वपूर्ण आयाम भनेको मास मिडियामा ऊर्जाको विकास र यसले देश विकासमा दिने योगदानबारे बहस हुनुपर्ने हो । तर, यस्तो बहस बन्द कोठामा मात्रै भइरहेको छ । बन्द कोठामा हुने छलफलबाट यो क्षेत्रको बारेमा अहिले जुन आम धारणा छ यो त कहिले पनि परिवर्तन हुने अवस्था छैन । बरु, अहिलेको बेलगामे सामाजिक सञ्जालका कारण यस क्षेत्रप्रतिको आम मानिसको धारणा झन झन नकारात्मक हुँदै जान सक्छ । त्यसैले ऊर्जा उत्पादकहरुले यी क्षेत्रमा लगानी बढाएर यस क्षेत्रको महत्व र आवश्यकताबारे मुहानबाटै वातावरण बनाउँदै जानुपर्छ ।
अहिले ऊर्जा उत्पादक कम्पनीहरुले यी सबै क्षेत्रको नाम लिने हो भने यसमा किन लगानी गर्ने भनेरसमेत प्रश्न गर्छन् । मास मिडियामा फलानो ऊर्जा आयोजना भनेर विज्ञापन गर्नुको कुनै अर्थ छैन । त्यसकारण ऊर्जा उत्पादकले मेरो कम्पनीको किन ब्राण्डिङ गर्नुप¥यो भनेर प्रश्न गर्नु पनि जायजै हो । उनीहरुले गर्ने लगानी कम्पनीको ब्रान्डिङमा होइन, यो क्षेत्रकै ब्रान्डिङका लागि गर्नुपर्छ । त्यसका लागि कम्पनीपिच्छे होइन, ग्रुप अफ कम्पनीज वा कुनै संस्थागत तवरले लगानी गर्नुपर्छ । त्यस्तो लगानीले मात्र यो क्षेत्रलाई दिगो बनाउन सहयोग गर्न सक्छ ।
त्यस्तो लगानी अध्ययन, अनुसन्धान र अवलोकनमा केन्द्रित बनाइनुपर्छ । ऊर्जा साक्षरता र ऊर्जा सुरक्षामा केन्द्रित बनाइनुपर्छ । त्यसका लागि विद्यालय तहदेखि नै ‘नेपालको ऊर्जा विकासको सम्भावना र समुदायको सहयोग’ भन्ने विषयमा पाठ्यक्रम लागू गर्न स्वतन्त्र ऊर्जा उत्पादकहरुको छाता संस्था इप्पानले पहल गर्नुपर्छ ।
नेपालमा ८३ हजार मेगावाट जलविद्युत् उत्पादन क्षमता छ । नेपालमा ६ हजार नदीनाला छन् । वनजंगल र हिमायलले भरिएको देश नेपाल हो भनेर विद्यालय तहमा कुनै एउटा कक्षामा एकपटक एउटा पाठमा पढाएर देशको यत्रो ठूलो सम्भावनालाई ज्ञानमा रुपान्तरण गर्न सम्भव छैन । त्यस कारण विद्यालय तहदेखि नै मानिसको यस क्षेत्रप्रति सकारात्मक भाष्य बनाउन र ऊर्जा विकासमा सबैको हातेमालो बढाउन पाठ्यक्रम विकास गर्नुपर्छ । त्यसको औचित्य पुष्टि गर्नका लागि गर्नुपर्ने अध्ययन अनुसन्धान र प्रकाशनका लागि यो क्षेत्रले सघन लगानी गर्नैपर्छ । अनि मात्र यो क्षेत्रको दीर्घकालीन विकास हुन सक्छ ।
नेपालको शिर उचो बनाउने विषय छ भने आमनेपालीले कसरी साथ दिन्छन् र सहयोग गर्छन् भन्ने कुरा नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग (एनपीएल)लाई नै हेरे पुग्छ । २/४ महिना मात्रैको तयारीले पनि एनपीएलमा दर्शक स्वतःस्फूर्त रुपमा धुलोमा बसेर क्रिकेट हेर्न पुगेका हुन् । ऊर्जा क्षेत्रको महत्वलाई यसरी नै ब्रान्डिङ गर्न सक्यौं भने नेपालीले आयोजना बनाउन अवरोध होइन, अवरोध गर्नेलाई लखेट्ने अभियान चलाउन सक्छन् । लगानी आफंै जुटाउन सक्छन् । ऊर्जा क्षेत्रले सहज तवरले काम गर्न पाउने छ ।
एउटा आयोजना निर्माणमा अवरोध आउँदा दिनै नहुने करोडौं रुपैयाँ दिएर अवरोध हटाउने प्रवद्र्धकले त्यस्तो अवरोध आउनै नदिने वातावरण बनाउन १० लाख रुपैयाँ किन खर्च नगर्ने ? त्यसकारण ऊर्जा उत्पादकमै अध्ययन अनुसन्धान र प्रकाशनबारेको बुझाइ पुगेको छैन । केही प्रवद्र्धकले मात्र यसको महत्व बुझेर यो क्षेत्रमाथि अनावश्यक आक्रमण हुन रोकिँदैन । ऊर्जा उत्पादकले कमाएको २/४ पैसा यसै क्षेत्रमा लगानी गरेका छन् । यो क्षेत्रलाई अहिले भइरहेको चौतर्फी आक्रमण रोकिएन भने सबै ऊर्जा उद्यमी छोटो समयमै पुनः सडकमा आउन सक्छन् ।
पत्रकारको क्षमता अभिवृद्धि र बिट
पत्रकार भन्दैमा सबै कुरा जानेका हुँदैनन्, उनीहरुको पनि लेख्ने विधागत क्षेत्र हुन्छन् । ऊर्जा क्षेत्रकै बारेमा विधागत पत्रकारिताको इतिहास धेरै लामो छैन । यसकारण उनीहरुबाट धेरै कुराको अपेक्षा गर्नु जायज होइन । तर, ऊर्जा क्षेत्रमा लेख्ने पत्रकारले नै अर्थको अनर्थ लाग्ने गरी लेखे भने त्यसले बजारमा कस्तो असर पर्छ ? पत्रकार वा मिडिया सञ्चालकलाई विज्ञापनको नाममा पैसा दिएर यो समस्याको समाधान हुँदैन । त्यसका लागि यो क्षेत्रले पत्रकारको क्षमता वृद्धिका लागि देश विदेशमा अवलोकन अध्ययन भ्रमण गराउने र प्राविधिक कुरालाई सरलीकरण गर्दै यसको वास्तविकता बुझाउनुपर्छ । अनि मात्र उसले दिने सही सूचना दिनसक्छ । उसले सही सूचनाले सही विचार निर्माण गर्नेमात्र होइन, असल जनमत पनि निर्माण गर्न सक्छ । मिडिया साक्षर जनमतले मात्र जलविद्युत्् क्षेत्रको विकासमा आउने अवरोधविरुद्ध लड्न सकिन्छ ।
निजी क्षेत्र ऊर्जा आयोजनामा प्रवेश गर्नु अघि ऊर्जा क्षेत्र पत्रकारिताको बिटको रुपमा थिएन । अहिले समग्र पत्रकारिताको एउटा सशक्र विधाको रुपमा स्थापित भएको छ । मूल पत्रकारितामा सशक्त भूमिका निर्वाह गरेको ऊर्जा आर्थिक र पूर्वाधार पत्रकारितामा धेरै अगाडि छ । आमसञ्चार माध्यमले ऊर्जाको अन्तरविस्तुलाई उच्च महत्व दिन थालेका छन् । यो सबैको कारण निजी क्षेत्र प्रवेशपछिको ऊर्जा क्षेत्रमा भएको तीव्र विकास हो तर अझै पनि पत्रकारहरुमा ऊर्जाबारेको बुझाई, ज्ञान र क्षमता बढाउनुपर्ने आवश्यकता छ । त्यसले यो बिटलाई समेत आकर्षक बनाउन सक्छ ।
मेरो आफ्नै अनुभवको कुरा गर्दा पनि करिब १० वर्ष पत्रकारिता गर्दा मैले ऊर्जा क्षेत्र र उत्पादकहरुलाई बुझेको भनेको जम्मा १० प्रतिशत मात्रै रहेछ । अहिले ऊर्जा उत्पादकहरुको संस्थामा काम गर्न थालेपछि ३० प्रतिशत जति यो क्षेत्र बुझेकी जस्तो लाग्छ । यो क्षेत्रलाई शतप्रतिशत बुझने भनेका स्वयम प्रवद्र्धकहरु मात्रै हुन् । प्रवद्र्धकका परिवारलेसमेत यो क्षेत्रको महत्व र दुख बुझेका छैनन् जस्तो लाग्छ ।
बौद्धिक वर्ग, सामाजिक अभियन्ता, राजनीतिज्ञ, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थीकसैले पनि यो क्षेत्रलाई बुझेजस्तो लाग्दैन भने सर्वसाधारणले यो क्षेत्र बुझ्ने कुरा कल्पना पनि गर्न सकिन्न । प्रवद्र्धकबाहेक दोस्रो पक्षले यसको गहिराइ नबुझेरै नेपालको ऊर्जा क्षेत्र यहाँसम्म आइपुगेको छ, तर सधैं त यसरी चल्दैन ।
पत्रकारितामा ऊर्जा उद्यमीका पीडा
संसारमा कति प्रकारका तनाव हुन्छन् ? तीमध्ये तपाईं कति प्रकारका तनाव व्यवस्थापन गर्न सक्नुहुन्छ ? ऊर्जा क्षेत्रमा लागेकाहरुले संसारमा भएका सबै तनाव झेल्नुपर्छ । त्यसकारण कहिलेकाहीं उनीहरु अलि झोकी स्वभावका जस्तो पनि लाग्छन् । तर, अब सधैभरि सबै तनाव झेलेर जलविद्युत्् वा कुनै पनि किसिमको ऊर्जा उत्पादन गर्छु भनेर सकिन्न । जलविद्युत्् उद्यमीहरुप्रति आम मानिसको बुझाइ जरैदेखि बदल्नुपर्छ । सकारात्मक बनाउन लाग्नुपर्छ । विद्यालयका पाठ्यक्रममा ऊर्जा उत्पादन गर्दाका कठिनाइ र उत्पादन पछिका अवसर पढाइ हुनुपर्छ । गाउँमा होस् या सहरमा विभिन्न समूहका छलफलमा ऊर्जा उत्पादनका बारेमा बहस हुने वातावरण बनाउनुपर्छ ।
बहसको वातावरण सरकारले बनाएन भनेर प्रवद्र्धकहरुले छुट पाउँदैनन् । सरकारलाई अर्बौ रुपैयाँ कर तिर्ने प्रवद्र्धकहरुले करोड खर्च गरेर त्यो वातावरण स्वयम बनाउनुपर्छ । होइन भने अहिले प्रवद्र्धकहरुले पाएको दुख झन झन बढ्दै जान्छन् । उनीहरुले पाएका सुविधा खोसिँदै जान्छन् । पहिले भन्सार छुटमा पाउने सामान अहिले पुरा भन्सार तिरेर ल्याउनु परिरहेको छ । रुख काट्ने कुरामा दिनदिनै झनझट थपिएका छन् । अनुमतिपत्र दिंदा दिएका सुविधा पनि धमाधम खोसिंदै छन् । आयोजना बनाउँदा जंगल बिनाश होइन, संरक्षण हुन्छ भन्ने कुरा बुझाउन प्रवद्र्धक असफल भइरहेका छन् । यो विषय गम्भीर हो ।
सञ्चारकर्मीहरुलाई बुझाउन नसक्दा खोलाको पानी सुरुङभित्र पठाउँदा खोला नै हाइड्रोले खायो, अर्बौ कसरी कमाए जस्तो समाचार आउने गरेका छन् । जलविद्युत््का लागि धितो राखेको घर खेत बैंकले पनि खाएका छन्, ठूलो जोखिम मोलेर उनीहरुले लगानी गरिरहेका छन् । त्यो आयोजनाले ऋण नतिरेमा बैंक तथा वित्तीय संस्थाले सञ्चालकहरुले राखेको व्यक्तिगत जमानीबाट असुल उपर गर्छन, यसबारे मिडियामा कमै चर्चा हुन्छ । आयोजनामा ठूलो लगानी हुन्छ, खाली ठूलो जोखिम मोलेर अर्बौ लगानी गर्नेले करोड कमाएका हुन् । हजार पनि लगानी नगर्नेहरुले अर्बौ लगानी गर्नेलाई कमायो भनेर गाली गरिरहेका छन् । हो, गलत गरेको कुरालाई गलतै भन्नुपर्छ, त्यसलाई सच्याउने अवसर दिनुपर्छ । सरकारले नियमन गर्नुपर्छ, तर ७ सयभन्दा बढी आयोजना भएको ठाउँमा ५/१० आयोजनाको बदमासीलाई देखाएर ९९ प्रतिशत आयोजनालाई प्रताडित गराउने र नियमनको नाममा नियन्त्रण गर्नु हुँदैन ।
स्थानीय स्तरमा ऊर्जा आयोजनालाई दुहुनो गाईको रुपमा लिएर दुख दिएको समेत छ । ती झेल्दै आयोजना बनाएको दुख कसैले देख्दैनन् । दुख देखाउन नसक्नु प्रवद्र्धकहरुको कमजोरी हो । यसलाई समयमै सुधार गरिएन भने आगामी दिनमा यो क्षेत्रमाथि थप संकट आउन सक्छ । यसका लागि ऊर्जा उत्पादकहरुले एउटा प्रण गर्नै पर्छ । उनीहरुले अहिले एउटा क्षेत्रमा लाख लगानी गरे भने १० वर्षपछि त्यसले करोड प्रतिफल दिन्छ भन्ने कुरा बुझेर त्यसै अनुसार अध्ययन अनुसन्धान, प्रकाशन र मास मिडियामा लगानी बढाउँदै लैजानुपर्छ ।
(बडुवाल इप्पानमा आवद्ध हुनुहुन्छ ।)




